स्थानीय तहमा केन्द्रीय नेताले उम्मेदवारी दिन सुझाव



काठमाडौँ। स्थानीय तहका प्रमुख पदहरूमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिन उपयुक्त हुने सुझाव विज्ञहरूको छ। स्थानीय तहका प्रमुख पद आकर्षणका केन्द्र बन्दै गएको भन्दै विज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्।

सङ्घीय प्रणालीअनुरूप स्थानीय तहमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको स्रोत र साधन हुने भएकाले स्थानीय तहका प्रमुख पदमा आकर्षण बढेको ठम्याइ उनीहरूको छ।

आकर्षण बढेको मात्र नभई विज्ञहरूले स्थानीय तहका प्रमुख पद विकास निर्माण, सेवा प्रवाह र सुशासन कायम गर्ने दृष्टिले महत्त्वपूर्ण भएकाले आसन्न निर्वाचनमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिनुपर्ने बताए। आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेको छ।

स्थानीय शासनविज्ञ डा। श्याम भुर्तेलले स्थानीय तहको कुशल व्यवस्थापक बन्न राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिनुपर्ने बताए। उनका अनुसार पहिलो स्थानीय तहको निर्वाचन हतारमा भएको र दलहरूले उम्मेदवार छान्ने समय पनि छोटो थियो। आजको गोरखापत्र दैनिकमा समाचार छ।