काठमाडौँ। मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३।४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो। सुदूरपश्चिमका लागि पवित्रा धामीले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिइन्। उसका श्रीमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले समान २र२ तथा विना थापाले १ विकेट लिइन्।
त्यसअघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डोर्याए। किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन। बलिङ तर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन। खेलको प्लेयर अफ दी म्याच कर्णालीकी एन्जीला थापा भइन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनिका महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिताका जनाएका छन्।