काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो नेतृत्वमा बनेको सरकारले वृद्ध भत्ता सुरु गरेको स्पष्टा पारेका छन्।
शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले भने, ‘नेपालमा बुढापाकालाई भत्ताको सुरुवात कसले गर्यो भनेर सोध्ने हो भने त्यो बेलाको पार्टी, जसको नेता माधव नेपाल थिए त्यही पार्टीले गर्यो भन्छन्।’
२०५१ सालमा एमालेको सरकारले वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा अघि सारेको र उक्त सरकारमा आफू उपप्रधानमन्त्री रहेको नेपालले स्मरण गरे।
उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म उपप्रधानमन्त्री। पार्टीका तर्फबाट मूल नेता। यो वृद्धभत्ताको सुरु गर्ने मान्छे। मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन। कमसेकम स्याबास भन्नुपर्ने हो नि।’
उनले ०५१ मा मासिक एक सय रुपैयाँ दिने गरी वृद्धभत्ता सुरु गरिएको बताए। नेपालले ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको पनि बताएका थिए। ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो ‘गाउँ आफैँ बनाऔं’ भनेर बजेट दिएको थियो,’ उनले भने।