चुनावबारे देउवा र प्रचण्डबीच सवाल जवाफ



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावबारे सवाल जवाफ भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितको भेटवार्ताको क्रममा चुनावबारे देउवा र प्रचण्डबीच सवाल जवाफ भएको हो ।

छलफलमा अझैपनि निर्वाचन हुन्छ कि हुँदैन भनेर चलेका हल्लाबारे प्रचण्डले जिज्ञासा राखेका थिए। ‘बाहिरतिर निर्वाचन हुँदैन कि भन्ने चर्चा पनि भइरहेको छ । के हो यो हामी तयारीमा तागत लगाएर गइसकेका छौँ। तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला पनि किन चलिरहेको छ ?’ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग प्रश्न गरेका थिए।

बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेर रुपन्देही पुगेका प्रचण्डले प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा तीन नेताबीच भएको छलफलबारे यस्तो खुलाएका हुन्। ​त्यसक्रममा प्रचण्डले आफ्नो प्रश्नमा प्रधानमन्त्री देउवाले यस्तो हल्ला भइरहने तर निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरेको बताए।

‘मैले त्यसो भन्दा प्रधानमन्त्रीले यो चुनावका दिन भोट हाल्ने दिन पनि यस्तो हल्ला भइरहन्छ’, प्रधानमन्त्रीको जवाफ उदृत गर्दै प्रचण्डले भने, ‘चुनाव नहुने भन्ने कुरा कहिकतैबाट देखिएको छैन।’ आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तोकिएको छ । चुनावका लागि सत्ता गठबन्धनबीच चुनावी तालमेलको चर्चा भइरहेपनि यसबारे हालसम्म कुनै निर्णय भने भइसकेको छैन । चुनाव नजिकिँदै गर्दा दलहरुले चुनावी अभियान तिव्र बनाउँदै लगेका छन्।