आज हिमाल-पहाडमा होलीको उमङ्ग



काठमाडौँ। काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ। आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ।

किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए। उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे। उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए। हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे। तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए।

अन्तत उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए। तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन। उल्टै होलीका भने भस्म भइन्।

अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ। बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँदै छ।

ऋतुहरुको राजा, वसन्त याम। भनिन्छ, वसन्त ऋतु सुरु भएसँगै प्रकृतिले आफ्नो रुप बदल्छ। हरियाली छाउँछ। बोट बिरुवामा नयाँ पालुवा पलाउँछ। मौसममा मादकता थपिन्छ। यसलाई बहार वा यौनावस्था पनि भन्ने गरिन्छ। यसलाई प्राणायामको याम पनि मानिन्छ। किनभने यसबेला वायुमण्डल शुद्ध र ताजा हुन्छ। त्यसैले त यस यामको आगमनसँगै मनमा आनन्द र उल्लास भरिन्छ। सूर्य उत्तरायण भएसँगै दिन घमाइला भएका छन्।

वसन्त यामको आगमनसँगै होली पर्व मनाइन्छ। यो सप्तरंगी उत्सवले प्रकृति र जीवनलाई अरु एकाकार बनाइदिन्छ। होली, रंगहरुको मेला। सत्य र निष्ठाको कथासँगै जोडेर यसले जीवनलाई सप्तरंगी बनाइरहनुपर्छ भन्ने सन्देश प्रवाह गर्छ। सधैं खुसी, सधैं उत्साहित, सधैं उर्जावान् र सधैं सकारात्मक।

के पनि भनिन्छ भने वसन्त ऋतुलाई स्वागत गर्ने उत्सव पनि हो होली। रंग, संगीत र नृत्यसँगै होली मनाउने परम्परा सदियौंदेखि चलिआएको मानिन्छ। यसलाई प्रेम र आकर्षणको उत्सव समेत मान्ने गरिएको छ। परम्परा अनुसार यसबेला भगवानको प्रतीकको रुपमा विष्णु र कामदेवको पूजा गरिन्छ।

हामीकहाँ होली पर्वको सुरुवात सांकेतिक रुपमा योनी र लिंग जुधाएर पनि गरिन्छ। यसले हाम्रो यौन समागमको बेला आएको पनि संकेत गर्छ। भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ। यसलाई भीमसेनको लिंग र कपडावाट बनेको प्वाललाई द्रौपदीको योनीको रुपमा चित्रण गरिन्छ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ। खासगरी नेवार समुदायले वसन्तपुर दरबार अगाडि रंगबिरंगी कपडा झुण्ड्याएर बनाइएको तीनछत्रे चीर गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ। फागुन शुक्ल अष्टमीमा गाडिने तीर पूर्णिमाको रात ढालेर टुँडिखेलमा पोलिएपछि होली समाप्त हुन्छ।