एकीकृत समाजवादीका मन्त्री हेरफेर हुने



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र मन्त्री फेर्न दबाब बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा सहभागी एकीकृत समाजवादीले श्रम, स्वास्थ्य, पर्यटन र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएको छ।

ती मन्त्रालयमा जानका लागि धेरै सांसद आकांक्षी थिए । तर, पार्टी अध्यक्ष माधवकुमार नेपालले कृष्णकुमार श्रेष्ठ श्रम, विरोध खतिवडा स्वास्थ्य, प्रेम आले पर्यटन र रामकुमारी झाँक्रीको नाम सहरी विकास मन्त्रालयमा सिफारिस गरे।

एकीकृत समाजवादी पार्टी स्रोतका अनुसार त्यतिबेला छ/छ महिना आलोपालो मन्त्रीहरू पठाउने सहमति भएको थियो । अहिले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचन आयोगले चैत १५ गतेपछि आचारसंहिता लागू गरेको छ । त्यसपछि मन्त्रिपरिषद पुनःगठन र अन्य नियुक्तिहरू गर्न पाइँदैन।

त्यसैले पालो कुरेर बसेका सांसदहरूले मन्त्री फेर्न नेतृत्वलाई दबाब दिएको पार्टी स्रोतले बताएको छ । मन्त्रीको हेरफेरको सम्पूर्ण जिम्मा अध्यक्ष नेपाललाई दिएको उपमहासचिव डा. विजय पौडेलले दृष्टिलाई बताए ।

अबको हेरफेरमा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र निरादेवी जैरुको नाम मन्त्रीमा रहेको स्रोतले बताएको छ ।