काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताएकी छन्।
वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताइन्।
मेयर विद्यासुन्दर शाक्यले मनपरी गरेको भन्दै उपमेयर खड्गीले कंक्रिटका संरचना भत्काउनुपर्ने बताइन्। उनले भनिन्, ‘यो गर्नै हुँदैन। किनभने विश्व सम्पदा सूचीभित्र परेको क्षेत्रमा मनपरी गर्न मिल्दैन, यो हेलचेक्राइँ हो। सम्पदा क्षेत्रमा यसरी कंक्रिटको संरचना बनाउन हुन्छ हुँदैन भनेर विवेक पुर्याउनु पर्ने हो।’
यसबारे मेयर शाक्यसँग सल्लाह गर्ने उनले बताइन्। महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधारहरु निर्माण गरेको छ। महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झण्डा राख्ने निर्णय भए अनुसार वसन्तपुरमा आठ वटा झण्डा राख्ने संरचना बनाइएको हो।
यसबारे बोर्ड बैठकमा पनि सल्लाह नभएको उपमेयर खड्गीले बताइन्। आफूले प्रवक्तासँग पनि यसबारे सोधेको तर उनले पनि आफूलाई थाहा छैन भनेको खड्गीले बताइन्। वसन्तपुरमा नयाँ संरचना बनाएको प्रति पुरातत्व विभागले पनि चासो राखेको छ । विभागले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर सो संरचनाको निर्माण रोक्न आग्रह गरेको छ।