काठमाडौँ। मार्योकामाथि सहज जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा १० अंकको अग्रता बनाउन सफल भएको छ। सोमबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए। च्याम्पियन्स लिगमा केही दिन अघि पीएसजीविरुद्ध ह्याट्रिक गरेका बेन्जेमाले त्यसपछि आफै दुई गोल थपेका थिए।
भिनिसियसलाई फल हानेपछि खेलको ७७औँ मिनेटमा पेनाल्टीबाट बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए। ८२औँ मिनेटमा मार्सेलोको पासमा उनले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे। अब लिगमा १० खेल बाँकी छँदा २८ खेलबाट रियलको ६६ अंक रहेको छ। रियलले आइतबार बर्नाबेउमा एल क्लासिकोमा बार्सिलोनाको सामना गर्नेछ।