नेपालसहित १४ सांसदको मुद्दा चैत २० गते पूर्ण सुनुवाइ हुने



काठमाडौँ। नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ।

आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ।

माधव नेपालसहितका सांसदलाई नेकपा एमालेले गरेको कारबाहीलाई मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलगायत विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

नेता माधवकुमार नेपालसहितका नेताहरुले नेकपा एकीकृत समाजवादी गठन नगर्दै नेकपा एमालेले १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो । पार्टीबाट निष्कासन गरेको जानकारी संघीय संसद सचिवालयमा पठाउँदा सभामुखले सूचना टाँस नगरेर उनीहरुको सांसद पद कायम गरिदिएको भन्दै नेकपा एमालेले २३ फागुनदेखि संसद अवरोध गर्दै आएको छ।

त्यस्तै निष्कासनमा परिसकेका नेताहरुले सनाखत गरेर अर्को पार्टी गठन गरेको भन्दै त्यसलाई मान्यता नदिन एमालेले निर्वाचन आयोगलाई आग्रह गरेको थियो। तर, निर्वाचन आयोगले माधव नेपालसहित एमालेले कारबाही गरेका नेताहरुकै सनाखतबाट एकीकृत समाजवादी दल दर्ता गरेपछि एमाले सर्वोच्च गएको थियो।

त्यस्तै लुम्बिनी प्रदेशसभामा पनि नेकपा एमालेले सांसदहरु विमला खत्री वली र अजय शाहीलाई कारबाही गरेको थियो। त्यहाँ पनि सभामुखले उनीहरुमाथिको कारबाहीलाई मान्यता नदिएपछि एमालेले यो विषयमा पनि सर्वोच्चमा रिट दायर गरेको थियो। चैत २० गते हुने पूर्ण सुनुवाइमा यी सबै मुद्दा एकै पटक सुनुवाइ हुनेछ।