काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्तिहरू लागेको टिप्पणी गरेका छन्।
आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको दावी गरे। उक्त षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने प्रचण्डको भनाइ छ।
‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन। नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’ प्रचण्डले चुनाव ब्याटललाई समान्य रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह गरे।
प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलका नेताहरू बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्ष एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दा बाम गठबन्धनप्रति इमान्दार भएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको बताए। तर, चार वर्ष नपुग्दै पटक(पटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए।
‘मैले आफैंले आफैंलाई धिक्कार भन्नुपर्ने हुन्छ । त्यस्तो प्रधानमन्त्री मलाई मान्य छैन भनेर इन्कार गरेको थिएँ’, उनले भने, ‘तर, चार वर्ष बित्दा नबित्दै मैले फेरि बुढानीलकण्ठ देउवाजीलाई तपाईं प्रधानमन्त्री भइदिनुस् हामी साथ दिन्छौं भन्ने परिस्थिति पैदा भयो। यसलाई राजनीतिको विचित्र बिडम्बना भन्नुपर्छ।’ यो समाचार अनलाइनखबरमा प्रकाशित छ।