काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोष्टबहादुर बोगटीलाई सिनियर भनेका नेताहरुकै सौहार्द ढङ्गले आलोचना गर्न सक्ने नेताको रूपमा स्मरण गरेका छन् । नुवाकोटमा बोगटीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेताहरुबीच विवाद हुँदा टेबल ठट्याएर कुरा राख्ने गरेको स्मरण गरेका हुन् ।
उनले भने, ‘बेलाबेला नेताहरुबीच अन्तर्विरोध हुँदा हामी सीमा नाघेर एकअर्कालाई चर्को आलोचना गर्थ्यौँ । तर जब पोष्टबहादुर बोगटी टेबल ठट्याएर आफ्नो कुरा राख्नुहुन्थ्यो, हामी सिनियर भनिएका नेताहरुकै सातो जान्थ्यो।’ डा.बाबुराम भट्टराई र मोहन वैद्य किरणप्रति लक्षित गर्दै प्रचण्डले बोगटीले विद्वानहरूको समेत पसिना निकाल्ने गरेको प्रसङ्ग सुनाए। ‘डाक्टर र वैद्यले बेलाबेला हेडक्वार्टरलाई सताउने गर्थे। त्यतिबेला पोष्टबहादुर बोगटीले डाक्टर होस् या वैद्य सबैको पसिना निकाल्थे।’
उनले भने, ‘पार्टीमा अप्ठ्यारो आउँदा वा अन्तर्विरोध चर्किँदा म उहाँलाई तपाईं जानु भन्थेँ। उहाँ त्यसलाई समाधान गर्नुहुन्थ्यो। युद्धको बेला होस् या शान्तिको बेलामा होस् उहाँ सर्वस्वीकार्य हुनुभएको थियो। उहाँलाई कसैले नकार्न सक्दैन थिए।’ बोगटीको असामयिक निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताउँदै उनको निधनमा सिङ्गो राष्ट्रले शोक मनाएको जिकिर गरे। ‘बोगटीको निधनबाट सबैभन्दा दुःख भोग्ने दुःखी पात्र म बनेको छु,’ उनले भने।
फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा माओवादी सधैँ सङ्कट मोचकको भूमिकामा देखिएको जिकिर गरेका छन्। शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमसीसी विवादमा माओवादीले सङ्कट मोचकको भूमिका खेलेको उनले बताए। ‘व्याख्यात्मक घोषणामार्फत देशलाई फेरि अर्को दुर्घटनाबाट जोगाएका छौँ। आगामी दिनको चुनावमा जनताले पक्कै पनि यसको मूल्याङ्कन गर्नेछन्,’ प्रचण्डले भने।
एमसीसी घोषणापछि पार्टीभित्र के होला भन्ने चिन्ता देखिए पनि फेरि एक पटक पार्टीलाई एकताबद्ध राखेर चुनावमा एकताबद्ध रूपमा अघि जाने र जीत हासिल गर्ने गरी अघि बढेको बताए। एमसीसी लगायतका विषयमा फोरम सञ्चालन गरेर सिङ्गो पार्टीको चेतनालाई विकास गर्ने पनि उनले बताए।