दार्चुला। सदरमुकामस्थित बंगाबगरको पारिपट्टी भारतले बिहीबार पनि महाकाली नदीको बहाव नेपालतर्फ फर्काउन थालेपछि स्थानीय ढुंगामुढा गरेका छन् ।
एक्स्काभेटर लगाएर नदीको बहाव बंगाबगरमा निर्माण भएको तटबन्धमा लगाएपछि स्थानीयले ढुंगा हानेर काम रोकेका थिए । महाकालीको बीच नदीमा आएर पानीको बहाव नेपाल फर्काएको छ ।
बंगाबगरका स्थानीय विक्रम बडालका अनुसार पानीको बहाव नेपाल फर्काईसकेको छ । करिब एक सय मिटर क्षेत्रमा महाकाली साँघुरो बग्ने र नदीको धार नेपालतिर फर्काएको हो । ुदुईरतीन दिनदेखि आफ्नै क्षेत्रमा ठूला ढुंगा पन्छाइरहेको थियो । हिजोरअस्ती नदीको धार केही नेपालतिर लगाएको थियो । आज बीच नदीमा पुगेर महाकालीको धार नेपालतिर लगाएको हो,’ उनले भने ।
बीच नदीमा आएर काम गरिरहेको अवस्थामा स्थानीय वारिबाट ढुंगा हानेपछि एक्स्काभेटर पारितिर लगेर काम रोकेका छन् । कोही नभएको मौका छोपेर विस्तार–विस्तारै नदीको नेपालतर्फ फर्कारहेको बडालले बताए । स्थानीयले ढुंगा हान्न थालेपछि अहिले नेपालका सशस्त्र प्रहरी र नेपाल प्रहरी नदी छेउमा खटाइएका छन्।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी भारतीय पक्षले काम गरिसकेपछि मात्र पुग्ने गरेको स्थानीयको गुनासो छ । ‘अस्तीदेखि सीमा क्षेत्रमा भारतले एकतर्फीरुपमा तटबन्ध निर्माण गरिरहेको र महाकाली वारि आएर ढुंगा लग्दासम्म सशस्त्र प्रहरीलाई पत्तै हुँदैन, स्थानीयले ढुंगा हानेर भारतीयको ज्यादती रोक्नुपरेको छ,’ स्थानीय जमनसिंह मन्यालले भने, ‘सीमा क्षेत्रको निगरानीका लागि खटाइएको सशस्त्र प्रहरीलाई के भइरहेको जानकारीसमेत नहुने अवस्था छ।’
अहिले उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा प्रहरी परिचालन गरेको छ। भारतले पनि एक्स्काभेटर आफ्नोतिर लगेर काम रोकेको प्रहरीले जनाएको छ। त्यस्तै मंगलबार पनि लास्कु खोला नजिक भारतीय पक्षले महाकालीको वारि नदी किनार आएर बहाव परिवर्तन गर्न खोज्न थालेपछि बंगाबगरका स्थानीयले ढुंगा हानेका थिए । त्यसको प्रतिकारमा भारत खोतिला क्षेत्रका नागरिकले नेपालतर्फ पनि ढुंगा प्रहार गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ।