काठमाडौँ। सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयसँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्नेलगायत प्राविधिक कामहरु सुरु हुने पनि मन्त्री खतिवडाले बताए। आजको बैठकमा ५० वर्ष माथिका नागरिकहरूका लागि वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्नेसमेत निर्णय भएको मन्त्री खतिवडाले बताए।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन्। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको मन्त्री खतिवडाको भनाइ छ।
५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो।