काठमाडौँ। पूर्वी नेपालको पहाडी जिल्ला सङ्खुवासभामा बिहीवार बिहान एउटा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
‘अहिलेसम्म १४ वटा शव निकालिएको छ,’ प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बीबीसीसँग टेलिफोनमा भने। उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि धरान र केहीलाई चैनपुर लगिएको उनले बताए।
‘तीन जनालाई धरानतर्फ र बाँकीलाई चैनपुर पठाइएको भन्ने छ,’ सुवेदीले थपे। बसमा कति मानिस सवार थिए र दुर्घटना कसरी भयो भन्ने कुरा अहिले यकिन हुन नसकेको उनले बताए। झापाको दमकतर्फ जाँदै गरेको बस सङ्खुवासभाको मादी नगरपालिकामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।