‘एमसीसी पारित नगरेको भए हामीलाई हटाइन्थ्यो’



काठमाडौँ। एमसीसी व्याख्यात्मक घोषणासहित पारित नगरेको भए आफूसहित १४ सांसदलाई कारबाही गर्ने योजना रहेको नेकपा ‘एकीकृत समाजवादी’ का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

उनले केन्द्रीय समितिमा बुधबार पेस गरेको राजनीतिक प्रतिवेदनमा संसद्बाट व्याख्यात्मक घोषणासहित पारित नगरेको भए जस्ताको तस्तै पारित गर्ने तयारी थियो भन्ने उल्लेख गरेका छन्। एमसीसीमा व्याख्यात्मक घोषणाको विकल्पमा नगएको भए नेपाली कांग्रेस र नेकपा ‘एमाले’ मिलेर जस्ताको तस्तै पारित गर्ने र एकीकृत समाजवादीका १४ सांसद, सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने योजना रहेको नेपालको प्रतिवेदनमा उल्लेख छ।

यदि हामीले यसो नगरेको भए नेपाली कांग्रेस र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका चौध जना सांसदलाई कारबाही गर्ने गरी कांग्रेस र एमाले मिलेर एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्ने थिए, ‘उनले लेखेका छन्, ुत्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका चौध जना सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्ने सम्मका कार्य हुनसक्थे।’

फागुन १५ गते व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित गर्नुलाई वैकल्पिक बाटो लिनुका रूपमा उनले अर्थ्याएका छन्। ‘हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं,’ उनले लेखेका छन्।

पार्टीले एमसीसी सम्झौताका ११ बुँदा आपत्तिजनक रहेको र त्यसलाई व्याख्यात्मक घोषणाले सम्बोधन गरेको नेपालको प्रतिवेदनमा उल्लेख छ। नेपालले एमसीसी सम्झौताको सुरुआती चरणमा संसद्बाट पारित गर्ने कुरा उल्लेख नभएको तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसद्बाट पारित गर्नुपपर्ने व्यवस्था राखेको लेखेका छन्।