गठबन्धन र एमालेका नेताहरुको चित्त नदुखाउनु: सभापति देउवा



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूको चित्त दुख्ने खालका अभिव्यक्ति नदिन पार्टीका शिर्ष नेताहरूलाई निर्देशन दिएका छन्। स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँग मंगलबारको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूले गठबन्धन दलका नेताहरूको चित्त दुख्ने गरी कुरा नगर्नू भन्नुभयो, ‘प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै एक नेताले भने, ‘कोही अन्तर्वार्ता दिन जानुहुन्छ, कोही सार्वजनिक कार्यक्रममा बोल्नुहुन्छ। आफ्नो भनाइले कतै राजनीतिक समिकरणलाई नै असर पर्छ कि भन्नेतर्फ ध्यान दिनुहोला।’

सत्तापक्षसँगै प्रतिपक्षी दललाई पनि कांग्रेसले राम्रो व्यवहार गर्ने भएकोले त्यसतर्फ पनि विचार गर्न देउवाले आग्रह गरेका थिए। ‘चुनावी अभियान लिएर गाउँ–गाउँ पुग्दा आफुले जनता समक्ष दिने अभिव्यक्तिमा विचार पुर्‍याउनुहोला,’ देउवाले निर्देशन दिएका थिए।

देउवाले गठबन्धन नटुट्ने गरी अभिव्यक्ति दिन पनि नेताहरूलाई निर्देशन दिएका थिए। ‘गठबन्धन दललाई चित्त दुख्ने कुरा नगरौं, उनले भनेका थिए, ‘गठबन्धनका साथीहरूलाई गठबन्धन टुट्लाकी भन्ने शंका हुन्छ, तपाईंहरू एकातिर एक खालको अभिव्यक्ति दिनुहुन्छ। त्यसपछि गठबन्धनका साथीहरू बालुवाटार धाउन थाल्नुहुन्छ। त्यस्तो हुन दिन भएन। तपाईंहरूनै बुझ्ने हुनुहुन्छ। सबैसँग राम्रै सहकार्य गरेर कांग्रेस जिताउनमा लाग्नुहोस्।’ चुनावसम्म गठबन्धन रहने संकेत पनि देउवाले दिएको बैठकमा सहभागी एक नेताले बताए।