मतपत्रमा हरियो रंग राख्ने निर्णय सच्याउनुपर्छ: ओलीले बताए।



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णय स्वीकार नहुने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन्। आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निर्णय भएको उल्लेख गरेको थियो। तर ओलीले उक्त निर्णयको विरोध गर्दै भनेका छन्, ‘हरियो, सरियो हुँदैन।’

‘धार्मिक हिसाबले राख्ने हो ? कि के हिसाबले हरियो चिह्न राख्ने ?’ नेपाली कांग्रेसको चुनाव चिह्नतिर इंगित गर्दै ओलीले भने, ‘अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ?’ निर्वाचन आयोगले साँच्चै हरियो राख्ने निर्णय गरेको भए सच्याउनुपर्ने ओलीले बताए।

अध्यक्ष ओलीले भनेका छन्, ‘ निर्वाचन आयोगले मतपत्रका चिह्नहरुमा हरियो राख्ने भयो रे । हरियो चिह्न किन राख्ने, के कारणले राख्ने? निर्वाचन आयोगसँग मैले सोध्न भ्याएको छैन, म अत्यन्त ब्यस्त भइरहेको छु, उहाँहरुसँग सोधुला बुझुँला। यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ? सबैतिर आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले देखोस् भनेर हरियो राख्ने हो? हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चार माध्यमले त्रुटि सच्याउनुपर्छ, यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्रुटि सच्याउनुपर्छ, हरियो सरियो हुँदैन।’