स्थानीय तहको चुनावमा सम्पूर्ण शक्ति लगाउने निर्णय



काठमाडौँ। नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ। सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने निर्णय गरेको हो।

त्यसका लागि माओवादीले प्रदेश इन्चार्जहरू तोकेको छ भने सोही इन्चार्ज मातहत रहने गरी सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य सम्मिलित समितिले प्रदेशका जिल्लाहरूलाई समेटेर चुनावी कमाण्डहरु बनाउने छ। सो कमाण्डले पुनः स्थानीय तहसम्म सहायक कमाण्डहरु बनाएर चुनावमा होमिने गरी पार्टीले निर्णय गरेको एक नेताले जानकारी दिए।

चुनावका लागि माओवादीले विभिन्न ८ वटा योजना बनाएर दुई महिने अभियान चलाउने निर्णय गरेको छ। त्यसका लागि ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नारा तय गरिएको प्रचण्डले बैठकमा प्रचण्डले जानकारी दिएका थिए। दुई महिनाको अवधिमा भेला, प्रशिक्षण, संगठन विस्तार, सदस्यता वितरण लगायतका अभियान चलाउने माओवादीले निर्णय गरेको छ।

यस्तो छन् ८ योजना

१। २१औँ शताब्दीको समाजवादको नेपालीकरण र समृद्धिको कार्यक्रम अनुरूप पालिकास्तरमा घोषणापत्र बनाउने । तोकिएको मापदण्डका आधारमा उम्मेदवारको सूची बनाउने ।

२। संगठन सुदृद्धिकरण र विस्तारसम्बन्धी कार्ययोजना बनाउने।

– सबै तहका कमिटीलाई पूर्णता दिने । स्थानीय तहमा आवश्यक विभागहरू गठन गर्ने । घरघरमा सदस्य, टोल टोलमा सदस्यता अभियान चलाउने ।

३। व्यवस्थापकीय कार्यक्रम

–राजनीतिक प्रशिक्षण । स्वयम्सेवकहरुलाई गाउँ टोलमा खटाउने ।

४। प्रभावकारी प्रचार संयन्त्र

–नगर गाउँपालिकामा प्रचार शाखा बनाउने । सामाजिक सञ्जालमा प्रचार समूह बनाउने । व्यापक प्रचार प्रसार गर्ने । केन्द्रमा पनि आईटी टीम बनाउन

५। अध्ययन, संश्लेषण तथा विश्लेषणसम्बन्धी कार्यक्रम

–आर्थिक सामाजिक र राजनीतिक अवस्थाको रिपोर्ट बनाउने । आवश्यक रणनीति बनाउने ।

६। राजनीतिक तथा प्रशासनिक समन्वय

–चुनावबारे अन्य पार्टीसँग समन्वय गर्ने । अभियान टोली र पालिकासँग समन्वय गर्ने । सांस्कृतिक टोलीको समयतालिका बनाउने ।

७। सांस्कृतिक टोली

–स्थानीय सांस्कृतिक विषयलाई महत्त्व दिने । स्थानीय कलाकारलाई सहभागी गराउने, चुनावी प्रचारमा कलाकारलाई सहभागी गराउने

८। गठबन्धनका घटकहरूसँग चुनावी तालमेल गर्न वार्ता र संवादको थालनी गर्ने ।

चुनावी नारा पनि तय

यस्तै माओवादीले केन्द्रीय समितिको बैठकबाट विभिन्न चुनावी नारा पनि तय गरेको छ । जसअनुसार प्रमुख चुनावी नारा यस्ता छन्–

–गाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँ ।

–माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र  समानुपातिक प्रतिनिधित्व

–नेपाली जनक्रान्तिको अमूल्य उपहार, संघ प्रदेश र स्थानीय जनसरकार

–सबैखाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तको उपलब्धिको रक्षा र विस्तार गरौँ

–श्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि

–विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ ।