‘माले र मण्डले एउटै हुन्’



नेपालमा प्रतिगामी, माले र हाम्रो प्रवृत्ति गरी मूलतः तीनवटा प्रवृत्ति छ । प्रतिगामी प्रवृत्तिको मण्डलेहरुले प्रतिनिधित्व गर्छन् । अर्को प्रवृत्ति माले प्रवृत्ति छ, यो उत्तेजनाको प्रवृत्ति हो । यो माले, मसाले मण्डले एकै हुन् भनेर गिरिजाप्रसाद कोइरालाले किन भन्नुभएको रहेछ भनेर म सम्झिरहेको छु । तेस्रो प्रवृत्ति भनेको हाम्रो प्रवृत्ति हो । म यसको बारेमा चर्चा गर्छु । प्रसंग एमसीसी प्रकरणबाट सुरु गरौं ।

एमसीसीको प्रकरण विशुद्ध एउटा प्रकरणको रुपमा मात्रै हेर्न सकिन्छ । एमसीसी नै नेपालको एउटामात्रै प्रकरण होइन । एमसीसी जस्ता धेरै सम्झौता भएको छ । अहिलेको एमसीसीमा देखिएको विवादलाई समाजको एउटा प्रवृत्तिको रुपमा हेर्न सकिन्छ । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा अर्थमन्त्री सुरेन्द्र पाण्डे अमेरिकाको एमसीसी मुख्यालयमा जानुहुन्छ र भन्नुहुन्छ, ‘एमसीसीले यत्रो ठूलो कार्यक्रम गरिरहेको रहेछ, हामीलाई पनि दिनुपर्यो,’ । अर्को पटक झलनाथ खनालको सरकार आउँछ । त्यो सरकारको तर्फबाट फेरि अर्थमन्त्री भरतमोहन अधिकारी गएर भन्नुहुन्छ, ‘नेपालको तर्फबाट एमसीसीमा दिएको निवेदन अनुसार हाम्रो देशमा त्यो आयोजना चाहिन्छ भन्ने कुरा लागू गरिदिुनपर्यो, हामीलाई चाहियो ।’

झलनाथ खनाल फेरिएपछि फेरि डा बाबुराम भट्टराईको सरकारलाई अमेरिकी सरकारले पत्र पठाउँछ र भन्छ, ‘तिमीले यसअगाडि एमसीसी बारेमा भनेको कुरा हामीले स्वीकार गर्यौं ।’ बाबुराम सरकारले धन्यवाद भनेर पत्र पठाउँछ । बाबुराम सरकारले धन्यवाद लेखेर पठाएपछि फेरि खिलनाथ रेग्मी नेतृत्वको सरकार आउँछ, त्यो सरकारले पनि काम अगाडि बढाउँछ । त्यो काम सक्दा नसक्दै सुशील कोइराला नेतृत्वको सरकार आउँछ । त्यो सरकारले पनि महत्वपूर्ण काम टुंग्याउँछ । फेरि केपी ओलीको सरकार आउँछ । ओली सरकारले अमेरिकालाई फेरि भन्छ, ‘यत्रो ६ वर्ष काम ग¥यौं । सबै कुरा ठिकठाक छ, आयोजना पनि छनौट भइसक्यो भन्छ । आयोजना कसरी बनाउने भन्ने विषय लेख्नुपर्यो, अब पैसा चाहियो, काम तीब्र गतिमा अगाडि बढाऊँ ।’

एमसीसीले १ अर्ब १३ करोड पैसा पठाउँछ । पैसा पठाएपछि ओली सरकारले धन्यवाद दिन्छ । काम अगाडि बढाउनका लागि त्यसबेला प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्रीहरू भीम रावल, कमल थापा, चित्रबहादुर केसीलगायत बैठक बस्छन् र पास गर्छन् । त्यसपछि फेरि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्छ । त्यो सरकारको म पनि मन्त्री थिएँ । त्यो सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा थिए । उनै महराले क्याबिनेटमा भन्छन्, ‘यो पैसा त ल्याउनु पर्यो ।’ सम्झौता चाँडो टुंग्याउनु पर्यो भन्दै कुरा अगाडि बढ्छ । वार्ता प्रक्रिया अगाडि बढाउँदा बढाउँदै शेरबहादुर देउवाको सरकार आउँछ । देउवा सरकारले अगाडि बढाउँदा बढाउँदै निर्वाचन आउँछ । त्यसपछि फेरि केपी ओली नेतृत्वको नेकपा सरकार आउँछ । ओलीको सरकारले फेरि यो संसदमा लानुपर्छ भनेर निर्णय गर्छ । त्यो निर्णयमा सही गर्नेमा शक्ति बस्नेत, वर्षमान पुन, गिरिराजमणि पोखरेल सबै हुनुहुन्छ । अनि संसद्मा आइसकेपछि त्यहाँबाट सुरु हुन्छ, ‘अब यो त राष्ट्रघात भयो, देश डुब्यो अब बर्बाद भयो, लौ खत्तम भयो’ भन्नुहुन्छ ।

तर, एक जनाले पनि मैले पनि त्यसबेला हस्ताक्षर गरेको थिएँ र राष्ट्रघात गरें भन्दैन । मैले इंगित गरेको मसाले प्रवृत्ति यही हो । सम्झौता आफू गर्छ, हस्ताक्षर आफू गर्छ । अनि भन्छ, ‘आयो आयो सेना आयो, आयो आयो जमिन खायो’ । तर, यो प्रस्ताव मैले गरेको हो भन्दैन । यो माले प्रवृत्ति हो, उत्तेजनाको प्रवृत्ति हो । हाम्रो प्रवृत्ति भनेको नेपाली काँग्रेसका वीपी कोइरालाले भन्नुभएजस्तै ‘हामी यो देश समुन्नत बनेको हेर्न चाहन्छौं’ । काँग्रेस त्यो पार्टी हो । वीपीले भनेजस्तै सबै नागरिकको जीवन मेरोजस्तै घर होस्, मैले जस्तै खान पाओस् भन्ने हो । हाम्रो सपना त्यो हो । आम नागरिकको जीवन माथि उठ्ने हो भने नै देश समुन्नत बन्छ । त्यसका लागि देशको साधन स्रोत सबैले प्रयोग गर्ने कुरा हो । हामी हेक्का राख्छौं, के छ के छैन भनेर ।

यो वर्ष नेपालको बजेट १६ खर्ब हो । त्यसमध्ये १० खर्ब रुपैयाँ चालू रकम हो । राजस्व १० खर्ब उठ्छ । त्यसले हामीलाई तलब भत्तामात्रै पुग्छ । हामीले यो पटक विकास गर्ने भनेर ४ खर्ब छुट्यायौं । ४ खर्बमा ४ खर्ब नै कहाँबाट जुटाउने भन्दा त तत्कालीन अर्थमन्त्री विष्णु पौडेल ‘ऋण लिने’ भन्छन् । हाम्रो हालत यो छ । हामी कहाँ पुग्न चाहन्छौं भन्दा १० वर्ष भित्रमा विकासको अर्को चरणमा पुग्न चाहन्छौं । हामी सडक बनाउन चाहन्छौं, विद्युत् आयोजना निर्माण गर्न चाहन्छौं, प्रसारण लाइन बनाउन चाहन्छौं, पूर्वाधार बनाउन चाहन्छौं । विकासलाई जनताको जीवनसँग जोड्न चाहन्छौं । वर्षको ५ लाख युवालाई रोजगारको अवसर दिने गरी काम गर्न चाहन्छौं । अहिले जम्माजम्मी ३०÷४० हजार रोजगार सिर्जना गरेर मात्रै हुँदैन । त्यसका लागि स्रोत र साधन चाहिन्छ । विद्युत् खपत बढाउनु पर्छ, उद्योग धन्दा चलाउनका लागि विजुली पनि चाहिन्छ भन्ने बुझ्दछौं । त्यसका लागि स्रोत र साधनको अभाव छ भन्ने पनि बुझ्दछौं । त्यसका साथै हामीले बाहिरबाट ऋण तथा अनुदान लिनुपर्छ भन्ने पनि जान्दछौं ।

तर, हामीले बाहिरबाट लिँदै गर्दा जहाँ हामीलाई फाइदा हुन्छ त्यस्तो अवस्थामा मात्रै अनुदान लिन्छौं । ऋणमात्रै लिने कुरा पनि हुँदैन । हामी घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने कुरा जान्दछौं । ऋण लिएर तिर्न नसक्ने अवस्था हुन दिनु हुँदैन । त्यसकारण फिर्ता दिनु नपर्ने पैसा लिनुपर्छ भनेका हौं । ०६२÷०६३ सालमा हामीले भारतसँग केही अरब पैसा लिएर हुलाकी सडक बनायौं । चीनसँग या अमेरिकालाई पनि भन्ने हो । यो लिएर चलाउने कुरामा मण्डले आएर भन्छ, ‘मागेर देश चल्दैन।’

०४६ सालपछि बनेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले बजेट बनाउँदा ३० वर्षको पञ्चायत सरकारले लिएको विदेशी ऋणको साँवा र व्याज तिर्नका लागि मात्रै साधारण खर्चका लागि बजेटको ४० प्रतिशत हिस्सा छुट्याउनु पर्थ्यो । मण्डले त्यो भन्दैन । मण्डललेले के भन्छ भने, एकादेशमा राज्य धेरै राम्रो थियो, ऋण पनि चाहिँदैन थियो, देशमा चामल पनि ल्याउनु पर्दैन थियो । देश आफैं चलेको थियो, सबै नेपाली सुखी थिए भन्छ । अनि मसाले आएर के भन्छ, ‘मुठी कस्छ र फेरि माग्ने भन्छ रु देशमा स्कुल बनाउनु पर्छ भन्दा विद्यालय पनि मागेर बनाउने रु भन्छ । अस्पताल बनाउने भन्दा त्यो पनि मागेरै बनाउने रु भन्छ । तर, उ चाहिँ उपचारका लागि अमेरिका वा भारत जान्छ । अनि यहाँ आएर ठूलोठूलो कुरा गर्छ । मसालेहरु चाहे अरुण तेस्रो होस्, त्रिभुवन विमानस्थल बनाउने कुरामा होस् वा एमसीसीको कुरा होस् बखेडा निकाल्छन् ।

नेपाली काँग्रेस माले, मण्डले र मसाले प्रवृत्ति घातक छ भन्छ । यो उत्तेजनाको प्रवृत्तिका विरुद्ध कांग्रेस उभिनु पर्दछ । नेपाली काँग्रेस प्रष्ट छ । यो देश ८÷१० या १५ वर्षसम्ममा राम्रो बनाउन सकिन्छ । देश बन्छ । देश बनाउने हामी नवजवानले नै हो । यहीँको तन्नेरीहरुले नै हो । जसरी जापानले हिजो १०÷१५ वर्षमा पूर्वाधार बनाउनका लागि विदेशी ऋण तथा अनुदान लियो र आज संसारलाई पैसा दिन्छ । हाम्रो देशलाई पनि त्यही ठाउँमा पुर्याउने हो । हामी पनि कसैलाई दिन सक्ने तागत बनाउन चाहन्छौं । तर, यही विषयलाई लिएर कोही उत्तेजनामा लाने कोशिस गर्छ ।

कस्तो भ्रम फैलाइएको छ भने एमसीसी लागू भए अमेरिकी कानून लागू हुन्छ भन्छ । सम्झौतामा के छ भने, ६० अर्ब रकम लगानी गर्दै गर्दा नेपालको हितमा होस् तर, अमेरिकाको अहितमा नहोस् भन्छ । चाइनाले पोखरा विमानस्थलमा बनाइदिएको छ, उसले पनि त्यही भन्छ । यो पैसा नेपालको हितमा लगानी होस् तर, मेरो विरुद्ध प्रयोग नहोस् भन्छ । जापानले पनि सम्झौताको क्रममा त्यही गर्छ । कुनै पनि मुलुकले ऋण वा अनुदान दिएको पैसाको सम्झौतामा मेरो देशविरुद्ध प्रयोग नहोस् नै भन्छ । जुन सम्झौतामा पनि त्यही भाषा हुन्छ । अब एउटा आएर एमसीसीको मात्रै बोल्छ । तर, त्यसले कि त अरु सम्झौता पढेकै छैन । कि त पढेर पनि ठगिरहेको छ । पढेर ठग्ने होस् या नपढी बोल्ने मुर्ख हुन्, दुवै देशका घातक हुन् । यतिको उचाइमा पुगेका नेताहरुले पढेनन् भन्ने त लाग्दैन, त्यसकारण यहाँ ठगिरहेका छन् ।

भारतले पूर्वपश्चिम सडक बनाउन ल्याएका उपकरणमा पनि कर नलाग्ने भन्ने थियो । अमेरिकाले पनि त्यही गर्छ । चाइनाले पनि त्यही भन्छ । मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा मेलम्ची आयोजनाको नाममा जग्गाको लालपूर्जा छ । मेलम्चीलाई एसियाली विकास बैंकले लगानी गर्छ । अब मेलम्चीको जग्गामा एसियाली विकास बैंक विकास खानेपानी आयोजनाको नाममा छ भन्ने ठाउँमा मेलम्ची राखियो । हामीले एमसीसी आयोजनाको नाममा पनि एमसिए नेपाल भनेर जग्गाको नाम राखियो । रातमाटे प्रसारण लाइन भनेर राखेको भएपनि हुने थियो । अनि एक जना बुद्धिजीवी नेता आएर भन्छन्, ‘ल हेर्नुहोस् जग्गा कसरी गयो रु’ एमसिए नेपालको नाममा भन्छ । यो उसले नबुझेर भनेको होइन । उसले के बुझेको छ भने, ‘नेपाली जनताको बीचमा मेरो उत्तेजनाको दोकान चल्छ भन्ने बुझेको छ ।’

त्यसकारण म काँग्रेसका साथीहरुलाई भन्न चाहन्छु, नेपालमा एउटा प्रवृत्तिको विरुद्धमा बहस चलाउनु पर्नेछ। त्यो प्रवृत्ति भनेको माले र मण्डले भनेको हो । उनीहरु नेपालका राष्ट्रवादका प्रतीक हुन्। नेपाली काँग्रेस देशभक्त हो। राष्ट्रवादी हुनका लागि उसलाई दुस्मन चाहिन्छ। राष्ट्रवादीले निषेध गर्छ, ध्वंस गर्न र कसैको विरोध गर्न उचाल्छ। राष्ट्रवादीले यही देशभित्र भइरहेको विभेद अन्याय देख्दैन। यसले एयरपोर्ट बन्ने विषयमा उचाल्छ, एमसीसीको विषयमा उचाल्छ । यसलाई काँग्रेसले चिन्नुपर्छ ।

काँग्रेसले देशभक्तिको कुरा गर्छ । विभेदको कुरा गर्छ, महिला, दलितको आवाज बोल्छ, देशभित्रको सबै भाषा धर्म संस्कृति सबैलाई चिन्दछ। जनै लगाउने होस् कि टोपी लगाउने होस्, या धोती लगाउने होस् सबैलाई चिन्दछ। देशभक्तहरु नागरिकता नपाएकालाई दिनुपर्छ भन्छन्। तर, त्यही नागरिकताका विषयमा एउटा राष्ट्रवादी आउँछ र यो राष्ट्रघात भयो भन्छ। उसले के भन्छ भने भारत र चीनलाई देखाएर तपाईंलाई निल्न सक्छ भन्ने डर देखाउँछ। हामी न चीनको हो, न भारतको हो । रुसले युक्रेनलाई आक्रमण गरेको विषयमा भारत बोल्नु भन्दा अगाडि चीन बोल्नुभन्दा अगाडि नेपाल बोल्यो, बोल्नुपर्छ। स्वतन्त्र देश सार्वभौम देशका विरुद्धमा भएका युद्धको विषयमा बोल्नुपर्छ । सरकारले युक्रेनको पक्षमा बोल्दै गर्दा अर्को निर्णय पनि भएको छ चीनका विरुद्ध नेपालको भूमि प्रयोग गर्न हामी दिँदैनौं।

नेपाली काँग्रेस, विराटनगरले शनिबार आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले दिएको मन्तव्यको सारांश ।