समाजवादीको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक २३ ,२५ र २६ गते



काठमाडौँ। चुनाव र एमसीसीबारे छलफल गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको छ। बैठक अपर्ण पार्टी प्यालेसमा बस्ने बताइएको छ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे र हालै संसदबाट अनुमोदन भएको एमसीसीबारे छलफल हुने बुझिएको छ। ‘केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनसहित अन्य केही प्रतिवेदनहरू पेश हुनेछन्’, प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘ठुलो उर्जाका साथ पार्टी पंक्तिलाई निर्वाचनमा जान निर्देशन दिइने छ।’

एकीकृत समाजवादीका नेताहरुका अनुसार आगामी बैशाख ३० गते एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि अन्य दलसँग गर्ने तालमेल लगायतका विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ।