कृष्ण हमाल मृत्यु प्रकरण: वीरेन्द्रनगर बजार बन्द



सुर्खेत। कालिकोटको तिलागुफा नगरपालिका ३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएपछि आफन्त र स्थानीयले वीरेन्द्रनगर बजार  बन्द गराएका छन्।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले कुटाइ खाएका तिलागुफा नगरपालिका-३ का २५ वर्षीय हमालको शनिबार बिहान मृत्यु भएको थियो। आफन्त र स्थानीयले आइताबार बिहानैदेखि वीरेन्द्रनगर बजार र सडक बन्द गरेका हुन्।

परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन्। वीरेन्द्रनगर बजारको प्रवेशद्वार सुब्बाकुनाका प्रहरीले हमाललाई कुटेर हत्या गरेको उनीहरूको आरोप छ।

सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन अहिले सञ्चालनमा आएका छैनन्। बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ भने चोकचोकमा बाक्लो मात्रामा प्रहरी खटाइएको छ।