कहाँ जादैछ रेमिट्यान्स ?



काठमाडौँ। केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो।

यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो। राष्ट्र बैंकका अधिकारीहरू हुन्डीमार्फत विप्रेषण आउने क्रम बढेपछि यस्तो कदम चाल्नु परेको बताउँछन्। वैदेशिक रोजगारीमा गएका नेपालीले हुन्डी गर्ने र सोही रकम गाउँघरमा रहेका आफन्तलाई पठाउने धन्दा चलेपछि यस्तो निर्णय गर्नु परेको उनीहरूको भनाइ छ।

कोरोना महामारी चरम उत्कर्षमा पुगेका बेलाको तुलनामा अहिले विप्रेषण आप्रवाह निरन्तर घट्दा वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको रकम कहाँ जाँदै छ भन्ने प्रश्न उठ्न थालेपछि केन्द्रीय बैंक यस्तो निर्णय गर्ने अवस्थामा पुगेको बताइन्छ।

यद्यपि यतिखेर विदेशमा रहेका नेपालीको आम्दानी नै घटेको हो वा नेपालमा विप्रेषण पठाउन कम गरेका हुन् भन्नेबारे यकिन अध्ययन भने भएको छैन। आजको आर्थिक अभियान दैनिकमा समाचार छ।