काठमाडौँ। नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूनो बेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप लगाएका छन्। त्यो आफूहरूलाई कदापि मान्य नहुने पनि उनीहरूको भनाई थियो।
पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरूले उक्त मेडिकल कलेजमा आफूहरूको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरूलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका हुन्। उनीहरू गत मङ्सिर २८ गते देखि निरन्तर आन्दोलनरत छन्।
कार्यक्रममा बोल्दै पीडित विद्यार्थी श्रद्धा मैनालीले तीन महिनादेखि जारी रहेको आफूहरूको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन्। यस्तै, उनले नोबेल मेडिकल कलेजबाट विद्यार्थीहरूमाथि मात्र नभएर अभिभावकसम्ममा फोन जान थालेको बताइन्।
कार्यक्रममा आन्दोलनरत पीडित विद्यार्थी तमन्ना कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। साथै, अर्की पीडित विद्यार्थी सदिच्छा आर्चायले आफुहरुले हार गुहार गर्दापनि राज्यले निरिहता देखाएको आरोप लगाइन्। तिन महिनासम्म विद्यार्थी सडकमा आउँदा पनि चिकित्सा शिक्षा आयोग किन चुप लागेर बसेको छ रु भन्दै प्रश्न उठाइन्।