के यसरी खेम भण्डारीले चुनाव जित्लान् ?



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता तथा समाजवादी प्रेस संगठन नेपालका संस्थापक खेम भण्डारीले स्थानीय तहको निर्वाचनमा भाग लिने संकेत गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेशबुकमार्फत संविधान अनुसार स्थानीय तहलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि ३० बुँदे अपिल गर्दै चुनाव जित्न सकिएला ? भनेर प्रश्न गरेका छन्। पत्रकारिता क्षेत्रमा जीवन समर्पण गरेका भण्डारी पछिल्लो समय स्थानीय तहमै बसेर समाज रुपान्तरण र परिवर्तनलाई संस्थागत गर्ने काममा जुटिरहेका छन्। स्थानीय तहमा हुने भ्रष्टाचारको अन्त्यदेखि सुशासन कायम गर्नेसम्मका ३० बुँदा अघि सारेका हुन्।

हेरौं भण्डारीले सार्वजनिक गरेका ३० बुँदा:

असम्भव काम गर्न सकिन्न र अनावश्यक काम हुन्न भनेर ।

भ्रस्टाचारको अनुसन्धान गरी पाता कसिने छ र अतिक्रमणमा डोजर चलाइने छ भनेर ।

बेरुजु फर्छ्यौट गर्न डण्डा चलाउने छु भनेर ।

पार्टी स्वार्थभन्दा माथी उठेर साझा ब्यक्ती बन्ने छु भनेर ।

सडकपेटी र सार्वजनिक स्थल सफा र सज्जित राख्न कठोर कानुन लगाउछु भनेर ।

कौडी दरमा भाडा र लिजमा दिएका सार्वजनिक सम्पत्ती खाली गराउछु भनेर ।

गत पाँच वर्षको लुटको भण्डाफोर गर्छु र लुटेरा जत्थालाई जेल कोच्छु भनेर ।

केही बिचौलियाको चंगुलबाट मुक्त रहनेछु भनेर ।

गलगाड बनेको अनावयक कर्मचारीतन्त्रलाई चुस्त र उत्पादनशील बनाउछु भनेर ।

ठू-ठूला योजनाका गफ होइन सानासाना सुधार गर्छु भनेर ।

सरकारी र सामुदायिक विद्यालयमा राजनीती हटाउँछु भनेर ।

निजि शिक्षाको बहुआयामिक शोषण समाप्त गर्छु भनेर ।

करको दर स्वाट्टै घटाएर दायरा ह्वात्तै बढाउँछु भनेर ।

नगर विकासको जग्गाका माफियालाई ठोक्छु भनेर ।

कृषकको दुश्मन बिचौलिया प्रणालीलाई हटाउने बिकल्पमा काम गर्छु भनेर ।

सशर्त अनुदानको नाममा थोपरिने कामै नलाग्ने झन्झटको प्रतिवाद गर्छु भनेर ।

भाइ भतिजा पाल्ने उद्देश्यले थालिएका सबै काम रोक्छु भनेर ।

स्रोत सुनिस्चितताबिनै थालिएका सबै निर्माण रोक्छु, अनावश्यक योजनाका सम्झौता रद्द गर्छु भनेर ।

लक्ष्य प्राप्त गर्न नसक्ने सरकारी र सामुदायिक विद्यालय र तिनका शिक्षकलाई दण्ड र प्राप्त गर्नेलाई पुरस्कारको ब्यवस्था गर्छु भनेर ।

निजी विद्यालय र शैक्षिक संस्था कोठे हुनुहुन्न, पर्याप्त भौतिक पूर्वाधार र एउटा फूटबल ग्राउण्ड बराबरको खेल मैदान हुनुपर्ने टाइमलाइनयुक्त कानून बनाइने छ भनेर ।

विकास योजनामा अवरोध गर्नेहरूमाथि चाहिए जति बल प्रयोग गरेर भए पनि डम्पिङ साइट जस्ता योजना सम्पन्न गरिने छन् भनेर ।

छाडा चौपाया नियत्रणमा भएको लुटपाटको जाँच गराउँदै यो ६ महिनामैं यो समस्याको ९० प्रतिशत समाधान गर्छु भनेर ।

नगरमा यउभल कउबअभ पर्याप्त बनाउन सबै खालका अतिक्रमण हटाउन आइपरे बल पनि प्रयोग गरिने छ भनेर ।

समयसीमा भित्र सेवाप्रवाह गर्न सफ्टवेयर आधारित गुनासो सम्बोधन प्रणाली जडान गरेर निर्धारित समयभित्र सेवाग्राहीको सम्बोधन नभए
सम्बन्धित शाखा र कर्मचारीलाई ठाउँको ठाउँ कार्वाही गर्ने इ(गभर्नेन्स सिस्टम सुरु गर्नेछु भनेर ।

पारदर्शीता र सुशासन कायम गर्न मेयरसमेतको निगरानी गर्ने सर्वदलीय संयन्त्र र प्रणाली बनाउने छु भनेर ।

आज के काम भयो, निर्णय के भए, खर्च कति भयो भन्ने आजै सार्वजनिक गर्ने अनलाइन नोटिस बोर्ड चलाउछु भनेर ।

टेण्डर र कोटेसनको प्रकृया अनलाइन लाइभबाट गरिनेछ भनेर ।

कमिसनका लागि मात्रै किनिएका, उपयोग नै नभएका वा उपयोग खर्च अस्वाभाविक भएका गाडीदेखि निर्माण यन्त्र लिलाम गरि
नगरपालिकालाई अनावश्यक आर्थिक बोझबाट तत्कालमुक्त गर्छु भनेर ।

आवश्यक संख्यामा मात्रै कर्मचारी राखिने छ, ज्यालादारीका नाममा मच्चाइएको बितण्डा पूर्ण रूपमा रोकिनेछ, १५० कर्मचारीले पुग्छ, त्यसबाहेकका झण्डै दुई सय कर्मचारी हटाइने छ भनेर ।

पिए, सल्लाहकार, बिज्ञ भन्दै आफ्ना मान्छे पोस्ने काम शून्यमा झारिने छ, चाहिए पटके रूपमा सेवा लिइनेछ भनेर ।

डल्लो बजेटको खेल हटाइने छ, योजना छनोटको प्रक्रियालाई पारदर्शी बनाएर रातोकिताबमा सम्पूर्ण योजना खुलस्त बनाइने छन् भनेर ।

उपभोक्ता समिती र अमानतबाट काम गर्ने परिपाटी रोखेर एक लाखभन्दा माथिका योजना र खरिद टेण्डरबाटै हुने ब्यवस्था हुनेछ भनेर ।

आसेपासे पोस्न एउटा योजनालाई खण्डिकरण गरेर बाँड्ने जस्ता दुस्कर्म भ्रस्टाचार ठहरिने कानुनी प्रवन्ध गरिने छ भनेर ।

माथिका काम पदभार सम्हाले लगत्तै सुरु हुनेछन् भनेर ।

साथै नेता भण्डारीले माथि उल्लेखित एजेण्डाहरुको आधारमा चुनाव जित्न सकिन्छ भन्ने सुझाव आएको खण्डमा आफूले कञ्चनपुरको भीमदत्त नगरको मेयरका लागि उम्मेदवारी दिने बताएका छन्।

उनले अगाडि लेखेका छन्, ‘यस्ता कुरा उठाएर चुनाउ जितिन्छ भन्ने सुझाव आए मात्रै मैले भीमदत्तको मेयरमा उम्मेदवारीका लागि टिकेटको प्रयास गर्नेछु। यी काम गर्न नसक्ने हो भने मेयर हुनुको कुनै तात्पर्य छैन। तीतो कुरा गरेर चुनाउ जितेको मैले अहिलेसम्म नदेखेको हुनाले तपाइहरूको सुझाव मागेको हुँ। चिल्ला र नक्कली कुरा गर्न नजान्ने हुनाले समयमै आफूलाई प्रस्तुत गरेको छु।’