सुर्खेत। कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको बिषयमा छानबिन हुने भएको छ।
नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीया कृष्ण हमाल ‘मिनी’ को शंकास्पद मृत्यु भएको थियो। हमालको मृत्युका विषयमा आफन्त र जिल्ला प्रशासन कार्यालयबीच छानबिन समिति गठन गर्ने सहमति भएको हो।
घटनाका बिषयमा सत्यतथ्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगर, अनुसान्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।
छानबिन समितिले तिन दिन भित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने, छानविन समितिले पेश गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिएता पनि कानुनी कारवाही अगाडी बढाउने र छानविनको कामलाई सहज बनाउनका लागि बिरोधका कार्यक्रम नगर्ने र पोष्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ। –न्यूज कारखाना