एमसीसी प्रकरण: माओवादीका तीन नेताको ‘नोट अफ डिसेन्ट’



काठमाडौँ। नेकपा माओवादी केन्द्रका तीन नेताहरुले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे तल्लो कमिटी छलफल लैजानुपर्ने माग गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव राख्दै तल्लो तहसम्म छलफल लैजानु पर्ने माग गरेका हुन्।

उनीहरुको प्रस्तावमा व्याख्यात्मक घोषणाको प्रस्ताव पार्टी विधिअनुसार नआएको, एमसीसी राष्ट्रिय हितविपरीत भएको, इन्डो(प्यासिफिक स्ट्राटेजीको अंग भएको दाबी छ।

‘एमसीसी राष्ट्रहितअनुसार छैन। यस विषयमा तल्लो कमिटीतर्फ लगेर छलफल गर्नुपर्छ,’ एक स्थायी कमिटीका सदस्यले भने, ‘पार्टी एकतालाई जोगाइराख्नका लागि विषयमा सबै नेताहरुले ध्यान दिनुपर्छ।’

शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। दाहालले बाध्यात्मक अवस्थामा एमसीसी अनुमोदन गर्नु परेको बताएका थिए। श्रेष्ठले एमसीसीमा आफ्नो फरकमत रहेको तर पार्टीलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताएका थिए।