एमसीसी २१औँ शताब्दीको उपनिवेश हो: विप्लव



काठमाडौँ। नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका छन्।

विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताएका हुन्।

‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो। १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ।’ नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ।

अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे । अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकिर गरे।

केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरित रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ। न्युज कारखाना