काठमाडौँ। सत्तारुढ गठबन्धनभित्र स्थानीय तहमा चुनावी तालमेलको विषयमाथि छलफल सुरु भएको छ।
बिहीबारबाट गठबन्धनभित्र आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलबारे औपचारिक छलफल सुरु भएको हो। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकमा चुनावी तालमेल छलफल भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनाकारी दिए।
‘स्थानीय तहको निर्वाचनमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एकमत छ,’ यादवले भने, ‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, स्थानीय निर्वाचनको तालमेलबारे ठोस छलफल भएको छैन।’ यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको पार्टीको केन्द्रीय समिति बैठकमा स्थानीय तह मिलेर जाने विषयमा गठबन्धनभित्र छलफल सुरु भएको ब्रिफिङ गरेका छन्।
स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा तालमेल गर्न तयार रहेको प्रचण्डको बिफ्रिङ छ। ०७९ को निर्वाचनमा गठबन्धन सम्बद्ध बलियो दलबाट उम्मेदवार तय गर्न देउवा सकारात्मक रहेको प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए।
गठबन्धन कमजोर भएको स्थानमा छलफलका आधारमा साझा उम्मेदवार खडा गर्न देउवा तयार रहेको प्रचण्डको भनाइ छ। प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘मिलेर नै चुनावमा जाने भनेर गठबन्धनमा छलफल भएको छ। त्यसका निम्ति आवश्यकताअनुसार विभिन्न कार्यदलहरू बनाएर जाने पनि भन्नु भएको छ।’ यो समाचार रातोपाटीले प्रकाशित गरेको छ।