स्थायित्वका लागि गठबन्धनको आवश्यक: मन्त्री कार्की



काठमाडौँ। सत्तारुढ गठबन्धनले चुनावी गठबन्धनका लागि आ-आफ्ना दलभित्र छलफल गरेर निर्णय लिने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको थियो। आ-आफ्नो दल दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘जुन कारणले हामीले गठबन्धन बनाएको थियौं। राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता छ।’ प्रवक्ता कार्कीले भने,‘गठबन्धन अघि बढ्छ। चुनावी गठबन्धनका लागि आ-आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं।’

बैठकले संसदमा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ। नागरिकता विधेयक र हवाई उड्ययन विधेयक संसदमा गम्भिर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताए।

‘संसद प्रति नै नकरात्मक धारणा जनताप्रति बन्नसक्छ।’ सरकारका प्रवक्ता कार्कीले भने,‘संसद बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गर्ने निर्णय गरेको छ।’ सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो। एमसीसीमा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निर्णय प्रक्रियमा उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे।