काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हटेकै मात्र चिन्ता रहेको बताएका छन्।
मंगलबार एमसीसी अनुदान सम्झौता अनुमोदनबारे प्रस्ट पार्न आयोजित पत्रकार सम्मेलनमा नेपालले ओलीलाई देश विकासका लागि कुनै चिन्ता नभएको बताएका हुन्।
राजनीतिमा प्रधानमन्त्री हट्ने हटाउने भइरहने उल्लेख गर्दै उनले भने, ‘जनताले निर्वाचन गरेको प्रतिनिधिसभाको मर्यादाको रक्षा गर्नु छैन। देशको विकासका लागि कुनै चिन्ता छैन। मात्रै मलाई प्रधानमन्त्रीबाट हटाइस् भन्नेमात्रै छ। रातदिन त्यहीमात्रै छ । मलाई पनि हटाएकै हो । शेरबहादुरजीलाई अर्कोले हटाएकै हो । यो त भइरहन्छ । पार्टीभित्र पनि हुन्छ, सरकारमा पनि हुन्छ । अन्त पनि हुन्छ।’
ओलीको घमण्डकै कारणले हुँदा खाँदाको दुईतिहाई बहुमत तोडिएको नेपालको दाबी छ । उनी भन्छन्, ‘ओलीको व्यक्तिवाद, अहंकारवादका कारण यो अवस्था सिर्जना भएको हो । सिंगै देशको लोकतन्त्र समाप्त पार्ने उद्देश्य राख्नुभएको थियो । एकलौटी शासन सत्ता सञ्चालन गर्ने योजना बनाउनुभएको थियो । मलाई कसैले रोक्न सक्दैन भन्ने उहाँको अहंकार थियो ।’
त्यस्तै एमसीसीबारे धारणा बनाउने भने पनि एमालेले एकीकृत समाजवादीको अस्तित्वबाट आतंकित भएको नेपालले बताए । ‘ओली एन्ड कम्पनीले पटक पटक धारणा बनाउँछौँ भनेको सुनिरहेका थियौँ । तर, अन्तमा के गर्यो ? तपाईंहरूले देख्नुभयो, न समर्थन न विरोध । अझै भन्ने हो एउटा तमाशा खडा भयो । जसले एमसीसी अगाडि बढाउनका लागि साराथोक गर्यो, ऊ नै मूकदर्शक भएर बस्यो । त्यसको कारण भनेको हाम्रो पार्टीको अस्तित्वबाट आतंकित भएर हो,’ नेपालले भने ।