सुर्खेतमा भोलि साँझ ७ बजेसम्म कर्फ्यु



सुर्खेत। अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएपछि सुर्खेतमा चर्को बिरोध भएको छ।

प्रदर्सन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा २४ घण्टे कर्फ्यू आदेश जारी गरेको छ।

विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएपछी कर्फ्यू जारी गरेको हो।

प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू लगाएको हो।

प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ।