सुर्खेत। एमसीसी पारित भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भएको छ। झडपमा प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको छ।
आन्दोलनकारीले गरेको ढुंगामुढाका कारण केही प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको नेपाल बन्द सफल गराउन आएका आन्दोलनकारीले खासगरी वीरेन्द्रनगर मुख्य चोक मंगलगढी चोक, यरीचोकमा प्रदर्शन गर्दा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।
“स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ,” उनले भने, ‘तर विभिन्न गल्लीबाट आन्दोलनकारीहरू निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन्।”
विभिन्न पार्टी कार्यालय तोडफोड
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको कार्यालयमा तोडफोड गरेका छन्।
विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बन्दकर्ताहरूले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन्। प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन बढी सेल अश्रुग्याँस समेत हानेको छ।
प्रहरीले बन्दकर्ताहरूलाई ढुंगामुढा नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ। तर, बन्दकर्ताहरू भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्।