काठमाडौँ। ब्याख्यात्मक घोषणाका आधारमा एमसीसी पास भएपछि राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ।
काठमाडौँमा जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले सत्ता गठबन्धनबाट अलग हुने निर्णय गरेको हो। साथै अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको हो।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ।’
राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरमा विरोध सभा गर्ने जनाएको छ।