काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्व.पूर्व प्रधानमन्त्री सुशील कोइराला बाहेक जीवित सबै पूर्व प्रधानमन्त्रीहरुको पालामा एमसीसीका बारेमा थोरै धेरै छलफल भएको दाबी गरेका छन्।
साथै उनले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन्। एमसीसी छलफलमा भाग लिँदै कांग्रेस सांसद थापाले व्याख्यात्मक टिप्पणी अमेरिकाले नमाने सम्झौता अघि नबढ्ने बताए।
आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन्।
उनले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीहरुलाई आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पल्टाएर हेर्न आग्रह गर्दै संसद् र जनता सामु झुट नबोल्न भनेका हुन्। थापाले मुलुकको पूर्वाधार विकासका लागि ऋण, अनुदान वा लगानी लिनुपर्ने जरुरी रहेको भन्दै संविधानले मार्गदर्शन गरेको र राष्ट्रहित प्रतिकूल नहुनेगरी सबै मित्र राष्ट्रहरुसँग सकेसम्म अनुदान लिने बताए।
‘हामीसँग जति आन्तरिक स्रोत उपलब्ध छ, त्यसले साधारण खर्च धान्न सकिरहेको छैन। पूर्वाधार विकासका लागि बाह्य स्रोत नभई हुँदैन। प्रत्यक्ष वैदेशिक लगानी, ऋण, अनुदानमध्ये लगानी हुने ठाउँमा लगानी, नहुने ठाउँमा अनुदानै हो,’ उनले थपे, ‘अनुदान कोसँग लिने ? नेपालको असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित भएर नेपालले जुन सन्तुलित परराष्ट्रनीति बनाएको छ त्यो नीति र हाम्रो संविधानले मार्गदर्शन गरेको राष्ट्रहितसँग प्रतिकूल नहुनेगरी हाम्रा सबै मित्रहरुसँग सकेसम्म अनुदान लिने हो।’
सांसद थापाले २०६३/६३ पछिको परिवर्तनपछि भारतसँग बिप्पा, चीनसँग बीआरआई र सचेतताका साथ अमेरिकासँग एमसीसी गरेको उल्लेख गरे ।