काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले एमसीसीबारे बोल्दा आफ्नै सुरक्षा खतरामा पर्ने अवस्था आएको बताए।
एमसीसीको विषय एउटा सामान्य आर्थिक अनुदान भए पनि यसलाई राजनीतिक विषय बनाइएको भट्टराईको भनाइ थियो। ‘हामी आपसमा लड्दै छौँ, एउटा राष्ट्रघाती र अर्को राष्ट्रवादी। देशलाई यसरी कित्ताबन्दी गरेर हामी कहाँ पुग्छौँ?’ उनले प्रश्न गरे।
“यसबारे हामी बोल्न डराइरहेका छौँ। बोल्दाखेरि हामीमाथि ढुङ्गामुढा हुने हो कि भन्ने खतरा छ। हामी आफ्नै संसदीय क्षेत्रमा जान डराइरहेका छौँ।” भट्टराईले एमसीसीबारे द्विविधा स्पष्ट गर्न व्याख्यात्मक टिप्पणी गर्ने गठबन्धनका दलहरूबीचको समझदारी स्वागतयोग्य रहेको बताए।
उनले एमसीसीबारे नेपालका देखिएको विभाजन सामरिक द्वन्द्वको बाछिटा रहेको बताए। भूराजनीतिक अवस्थितिका कारण पनि नेपाल एउटा पक्षसँग मात्रै नजिक भएर अघि बढ्दा भविष्यमा हुनसक्ने शीतयुद्धमा देश समस्यामा पर्न सक्ने उनको धारणा छ।