एमसीसी पारित गर्ने सरकार देशघाती: भीम रावल



काठमाडौँ। नेकपा (एमाले) का डा. नेता भीम रावलले एमसीसीले नेपालको सार्वभौमसत्तामा चुनौती दिने र नेपाललाई अमेरिकी सुरक्षा छातामुनि लैजाने भन्दै विरोध जनाएका छन्।

उनले व्याख्यात्मक टिप्पणीबाट सम्झौता सच्याउने बाटो रोज्नु जनतालाई ठग्नु मात्रै रहेको टिप्पणी गरे। रावलले एमसीसी पारित गर्ने सरकार इतिहासमा ‘देशघाती’ हुने र समर्थन गर्ने ‘गद्दार’ हुने भन्दै नेताहरूको सत्ता स्वार्थसँग एमसीसी सम्झौता साट्न खोजेको आरोप लगाए। उनले एमसीसीको सम्झौतामा रहेका कतिपय प्रावधानले नेपालको सार्वभौमसत्तामा चुनौती दिने दाबी गरे। ‘भविष्यमा बन्ने अमेरिकी कानुन पनि मान्नुपर्ने हुन्छ,’ उनले भने।

रावलले आयोजना सुपरिवेक्षण गर्न नपाउने निर्देशन दिन नपाउने जस्ता प्रावधान नेपालको हितमा नरहेको बताए। पूर्व परराष्ट्र मन्त्री समेत रहेका रावलले आयोजना अमेरिकी सुरक्षा रणनीतिको अङ्ग भएको विभिन्न अमेरिकी सुरक्षा दस्ताबेजले देखाउने बताए। ‘नेपाललाई अमेरिकी छातामुनि राख्ने वा विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बाटो तय गरिएको छ,’ रावलले भने। उनको दल नेकपा एमालेले भने संसद्‌मा छलफल चलिरहँदा वेलमा नाराबाजी गरिरहेको छ।