काठमाडौँ। व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने गठबन्धनको तयारी छ।
तर, नेकपा (माओवादी) केन्द्रका चार नेताले उक्त तयारीको बिरोध जनाएका छन्।
एमसीसीबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो। बैठकमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो।
नेता लीलामणि पोखरेलले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए। ‘व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन भनेर मैले पार्टी बैठकमा पनि प्रतिवाद गरेँ, म लगायत अन्य साथीहरूले पनि साथ दिनुभयो’, उनले भने, ‘यसले देश र जनताको भावनाको प्रतिनिधित्व गर्दैन। यसले देशलाई नोक्सान मात्रै हुन्छ।’
बैठकमा संविधान र गठबन्धनलाई जोगाउन बीचको बाटो खोज्नुपर्यो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र गठबन्धन जोगाउनका लागि एमसीसीमा बीचको बाटो खोज्नुपर्ने बताएका थिए।
संविधान र प्रणालीलाई जोगाउन निरन्तर आइसोलेशनमा बसेर पनि नहुने प्रचण्डको भनाइ थियो। प्रचण्डले पार्टीले संशोधनबिना पारित गर्न नहुने भनेपनि संशोधन अमेरिकाले मान्यो भने बीचको बाटो खोज्नुपर्ने बताएको एक नेताले जानकारी दिए।