काठमाडौँ। निर्णायक भनिएको कांग्रेस-एमालेका नेताहरूबीचको छलफल विना निष्कर्ष सकिएको छ।
संसद् खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच शनिबार भएको छलफल विना निष्कर्ष सकिएको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्याएको सञ्चारकर्मीहरुलाई जानकारी दिए।
आइतबारको संसद् बैठक खुल्छ भन्ने? प्रश्नमा मन्त्री कार्कीले भने, ‘मैले तपाईंहरूलाई नयाँ खवर भनौला भनेको थिएँ त्यो भएन।’ उनले अहिलेसम्म गठबन्धन दायाँबायाँ नभएको समेत बताए। उनले संसद् सुचारु होस् भन्ने आशामात्र गर्न सकिने उनको भनाई थियो।
छलफलपछि एमाले महासचिव शंकर पोखरेलले विगत ५÷६ महिनादेखि सभामुखको भूमिकालाई लिएर आफूहरूले संसद् अवरोध गर्दै आएका भन्दै जबसम्म सत्ता पक्ष आफ्ना माग पुरा गर्दैन तबसम्म संसद् अवरोध जारी रहने बताए। साथै उनले सत्तापक्षले एमसीसीमा खोजेको सहमतिमा पनि पहिला गठबन्धनको एकीकृत धारणा बनाएपछि मात्रै आफूहरूले धारणा बनाउने बताए।
‘दोस्रो संसद्मा प्रवेश बाटो बनाउनुस् त्यसपछि स्पष्ट दृष्टिकोण बनाउँछौ भनेका छौ’,महासचिव पोखरेलले भने, ‘लोकतान्त्रिक र राष्ट्रिय सन्दर्भमा छलफल गरिरहने भन्ने भएको छ। कुनै नयाँ निष्कर्षमा पुगेका छैनौ।’
शनिबारको छलफलमा काँग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए।