काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धन कुनै हालतमा पनि नटुट्ने दाबी गरेका छन्। शनिबार एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त दावी गरेका हुन्।
प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा उनले भने, ‘वामपन्थी शक्तिभित्र अधिनायकवादको जन्म भयो। निरंकुश व्यक्ति जन्मिने रहेछ। त्यस्ता प्रवृत्तिका मान्छेलाई माफी दिन सकिँदैन। आफ्नै गल्तिका कारण वामशक्ति कमजोर बन्यो। दक्षिणपन्थी शक्ति, प्रतिगामी शक्तीहरुले पुन टाउको उठाउँदै छन्। सभामुख र माधव नेपालसहितका १४ जनालाई सखाप पार्नुपर्छ भन्ने अपराधीक सोच बोकेका छन्। प्रगतिशील गठबन्धन जसरी पनि जोगाउँछौं। यो शक्ति भत्काउन लागि परेका छन्।’
उनले एमसीसी यथास्थितिमा पास गर्न नसकिने बताए। उनले भने, ‘एमसीसी यथास्थितिमा पास गर्न सकिँदैन। उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेका थिए। तर हामीहरुले विरोध गरेपछि अमेरिकाले हटाएको हाे। त्यस्तै बिमेस्टेकमा नेपाली सेना पठाउने निर्णय गर्ने काम केपी ओलीले गरेका थिए। हामीले बिरोध गरेपछि रोकियो। फेरि ओली सत्तामा आए नेपाललाई सिध्याउने छन्। नेपाल कुनै पनि देशको शैन्य रणनीतिमा संलग्न हुँदैन। त्यसैले अमेरिकाले हाम्रो देशको स्वतन्त्रता र सार्वभौमिकता माथी हस्ताक्षप गर्न हुँदैन।’
उनले अगाडी भने, ‘अनुदान भनिएको छ। त्यही अनुरुपको व्यबहार गर्नुपर्छ। बौद्धिक सम्पत्ति, अडिट गर्ने अघिकार नेपालले गर्न पाउनु पर्छ। हाम्रो अहित हुने खालेका बुँदाहरु खारेज हुनुपर्छ। न्यायोचित सम्बन्ध रहनुपर्छ। बिसुद्ध आर्थिक सहयोग हुनुपर्छ। सरकार ठूलो होइन, जनता हो। सत्तामा पुग्नका लागि अनेकन गरिरहेका छन्। देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर गहिरो बिश्लेषण गरेर अघि बढ्नेछौं। प्रतिगामी तत्वलाई समाप्त पार्ने छौं।”
अध्यक्ष नेपालले भने, ‘हामी देशको हितको रक्षा गर्नुपर्ने कर्तव्यबाट अभिप्रेरित छौं भने अर्कोतर्फ यो प्रगतिशील गठबन्धनलाई जोगाउनुपर्ने उद्देश्य पनि राखिरहेका छौं। यसअर्थमा यो गठबन्धनलाई जसरी पनि तोड्न खोज्ने तत्वलाई हामी पराजित गर्न चाहन्छौं। एमसीसीको खुलेआम पक्षमा रहेर जाने तत्वहरु को हुन्? जनताले चिनी सकेका छन्।’