काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली आफ्नो बदनाम गर्न लागि परेको बताएका छन्।
आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका खनालले एमसीसीका बारेमा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलादेखि नै सुरु गरिएको बताए।
शुक्रवार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताएका हुन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले शुक्रबार पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताएका थियो।
नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौति दिए। उनले एमसीसीलाई पत्र लेख्ने कुरा डा.बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको भाम जत्तिकै छर्लङ्ग रहेको बताए। नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरु चालिएको आरोप लगाए।
नेता खनालले भने, ‘एमसीसी त्यतिबेला जुन सरकारले सम्झौता गरेको थियो। यो एमसीसी सम्झौता त झलनाथ खनालको प्रधानमन्त्रीको कालमा पो सुरुवात भएको हो। उसले पो चिठि लेखेर यो कामको थालनी गरेको हो भन्ने कही मूर्खहरुले यसरी प्रचारप्रसार गरिरहेका छन्। यो १०० प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो। म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट कुनै न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु। एमसीसी सम्झौता गर्ने कुरामा एउटा कुरा पन अघि बढाएका छैनौँ। त्यो बेलामा हामी त्यो हैसियतमा पनि थिएनौँ।’
नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिजाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने दाबी गरे। उनले छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्नस्क्ने बताए। उनले छिमेकी देश चीन र भारतका बिरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे।
नेता खनालले भने, ‘दुई तीन दिनअघि मात्रै युक्रेन भन्ने देश सिंगो देश थियो, तर अहिले विभाजित भएर तीन वटा देशको रुपमा परिणत भएको छ, आक्रमण भइरहेको छ। हामीले अध्ययन गयौं भने युक्रेन रुसको अत्यन्त संवेदनशील छिमेकमा रहेको छ। तर छिमेकमा भएको सरकारले लगातार आफूलाई पश्चिमाहरुसँग सम्बन्ध राख्न खोज्ने नेटोको सदस्य बनाउन माग गर्दै लगातार रुसलाई उत्तेजित बनाउँदै गयो। ’ सम्मानित नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताए।