काठमाडौँ। एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ हुने भएको छ।
आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ। सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ।
सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषयमाथि बहस हुनेछ। यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन्। सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ। जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ।
सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ। दफावार छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत छलफल हुनेछ। दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ। पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ।
नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ। यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा रहने निर्णय गरेको छ।