काठमाडौँ। नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सबै सांसदलाई उपस्थित हुन सूचना जारी गरेको बताइन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको थियो। त्यसपछि संसद बैठक बिहीबार बस्न लागेको हो।
संघीय संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। सो कार्यसूची अनुसार बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ।
अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए। त्यसदिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए।