काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका छन्।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उनले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका हुन्।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले भने, ‘यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ। अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ। हामी हाम्रो बाटो हिँड्छौँ। आआफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ। त्यसले केही फरक पार्नेवाला छैन।’
नेता खनालले गठबन्धन टुटे पनि केही फरक नपर्ने टिप्पणी गरे। ‘त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन। हामीले देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा हामी निरन्तर काम गर्दछौँ।’