एमाले सल्यानका पूर्व अध्यक्ष समाजवादीमा प्रवेश 



सल्यान। नेकपा (एमाले) सल्यानका पुर्वअध्यक्ष लोक बहादुर डाँगी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) ले जिल्लाको सदरमुकाम खलंगामा आयोजना गरेको पार्टी भेला तथा प्रशिक्षण कार्यक्रममा दलबलसहित पुर्वअध्यक्ष डाँगी समाजवादीमा प्रवेश गरेका हुन्।

मंगलबार उनलाई पार्टीका केन्द्रीय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेहरुमा डाँगीसहित जिल्ला कमिटीका सदस्यहरु खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगी रहेका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता डाँगीले एमाले पार्टी सहि भए पनि त्यसभित्रका व्यक्तिसँग बिचार नमिलेर आफूले एमाले छोडनु परेको बताए। एमाले प्राइभेट कम्पनीको रुपमा परिणत भएको उनको आरोप छ। अझै केही दिनपछि अरु नेताहरुले पनि एमाले छोडेर समाजवादीमा जोडिने डाँगीको भनाई छ।