काठमाडौँ। यूएईसँग पराजित हुँदै नेपालको टी २० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ। टी २० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल ६८ रनले पराजित भएको हो।
यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो। यूएईले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ सय ७ रनमा अलआउट हुन पुग्यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ तथा ज्ञानेन्द्र मल्लले २० रन बनाए। आरिफ शेखले ११ रन बनाउँदा अरू कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्। यूएईका लागि अहमद राजाले ५ विकेट तथा जुनैद सिद्धिकीले ३ विकेट लिए।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो। यूएईका लागि मोहम वसिमले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७० रन बनाए। त्यस्तै, भ्रित्य अरभिन्दले पनि ४६ रनको योगदान दिए भने मोहमद उसमानले १७ रन बनाए। नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए। कप्तान सन्दीप लामिछानले १ विकेट लिए।
नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको थियो। नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो। यूएईसँगै आयरल्याण्डले विश्वकपमा स्थान बनाएको छ।