कास्की: महासमिति सदस्य निर्वाचनमा नेतृत्वले मनोमानी गर्यो



काठमाडौँ। नेपाली कांग्रेस कास्कीकी पूर्व जिल्ला कोषाध्यक्ष लक्ष्मी क्षेत्री पाण्डेले महासमिति सदस्यमा उम्मेदवार घोषणा गरेकी छन्।

नेपाली कांग्रेस, क्षेत्र नं २, कास्कीको महासमिति सदस्य निर्वाचनका क्रममा उमेद्वारको भावना र मर्म बिपरित नेतृत्व अघि बढेको दाबी गरेकी नेता पाण्डेले महासमिति सदस्य निर्वाचनमा नेतृत्वले मनोमानी गरेकाे दाबी गरेकी छन्।

उनले सोमबार सामाजिक सञ्जाल फेशबुकमार्फत उम्मेदवारी रहने जानकारी गराएकी हुन्। उनले लेखेकी छन्, ‘कुनै पनि मूल्य मान्यता र मापदण्ड नबनाई जातीय सन्तुलन, क्षेत्रीय सन्तुलन नमिलाई, सिनियर र भोटको प्याटर्नलाई पनि मिचेर एक्लौटी निर्णय लाद्ने किसिमले महासमिति सदस्य निर्वाचन गर्न लागेको आभास भएपछि हामीलाई चित्त नबुझी महासमिति सदस्य निर्वाचनमा बैधानिक रुपमा निर्वाचन समितिको तालिका बमोजिम तोकिएको समयमा तोकिएको शुल्क (निर्वाचन समितीले तोकेको ७००० सात हजार र क्षेत्रले तोकेको २०००० विस हजार रूपैया पनि फिर्ता नलिएको) तिरी उमेदवारको लागि मनोनयन दर्ता गरेको व्यहोरा जानकारी गराउन चाहान्छु।’

पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक बढी प्रतिस्पर्धी मत ल्याएर उपविजेता बनेकी नेता पाण्डेले नेपाली कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीले प्रतिष्पर्धालाई व्यवास्ता गरेको र प्रतिष्पर्धा गर्न पाउने अघिकारको हनन् गरेको दाबी गरेकी छन्। उनले लेखेकी छन्, ‘लोकतन्त्रको पर्यायवाची पार्टी नेपाली कांग्रेसभित्र, लोकतन्त्रको मेरुदण्ड निर्वाचनलाई व्यवास्ता गर्दै हामीसँग कुनै वार्ता वा समन्वय नगरी हामीले दर्ता गराएको मनोनयन पत्र फिर्ता नलिएको अवस्थामा निर्वाचनको लागि योग्य रहेको र निर्वाचनमा प्रतिस्पर्धा गर्न इच्छुक हुँदाहुँदै हाम्रो प्रतिस्पर्धा गर्ने अधिकारको हनन् गर्दै निर्वाचन समितिले सर्वसम्मत निर्णयको सूचना टाँस गरेको निर्णयप्रति हाम्रो घोर असहमति रहेको र यसका विरुद्ध सम्बन्धित ठाउँमा न्यायिक निरुपणको लागि जाने व्यहोरा जानकारी गराउँन चाहन्छौं।’

नेता पाण्डेले आफ्नो विरोध कुनै व्यक्तिको विरुद्धमा नभएको स्पष्ट पारेकी छन्। उनले भनेकी छन्, ‘यो कुनै व्यक्तीले पायो या पाएन भन्ने कुराले कुनै लाग्दैन अर्थ लाग्छ त केवल पद्धतीको कुनै योग्य व्यक्तिलाई त राजनैतिक ह्यारेसमेन्ट गरिन्छ भने अरूको के कुरा?’