काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसीसी संसद्मा नल्याउँदा विदेशी शक्तिहरूको क्रिडास्थल बस्न पुगेको बताएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा एमालेका केही सांसदहरूसँग छलफलको क्रममा ओलीले पहिले नै पारित गरेको भए अहिलेको अवस्था सिर्जना नहुने बताएका थिए।
‘विदेशीको क्रिडास्थल भएपछि बल्ल एमसीसी संसद्मा आयो । यस विषयमा अमेरिका, चीन बोल्नुपर्ने अवस्थामा आयो । एमसीसीको पहिले नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन,’ ओलीलाई उद्धृत गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अहिले सडकमा जुन प्रकारको गतिविधि छ पहिलो अनुमोदन गरेको भए आउने थिएन । अहिले पनि सत्ता र सभामुख द्वन्द्व बढाउन खोजिरहेका छन् ।’
आइतबारको संसद् बैठकपछि करिब ३० जना सांसदहरूसँग संसद् भवनस्थित विपक्षी दलको कार्यकक्षामा ओलीले अन्तरक्रिया गरेका थिए । तर उनले एमसीसीमा एमालेको भूमिकाको बारेमा खासै कुरा गरेनन् । भट्टराईका अनुसार एमालेको जारी संसद् विरोध निरन्तर रहने ओलीले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकको अनलाइन संस्करणमा छ।