अन्तत: संसदमा एमसीसी टेबल



काठमाडौँ। निक्कै विवादका बीच अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबल भएको छ।

आइतबार सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका छन्। तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले संसदबाट पारित गराउने प्रक्रियालाई अघि बढाएको कारण आफूले संसदमा टेबल गर्नु परेको बताएका छन्। २०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री  खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए।

एमसीसी संसदको विद्येयक शाखामा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्।

बरु नेकपाका नेताहरुबीच दूरी बढ्दै गयो, नेकपा विभाजित भयो र संसदमा एमसीसी अनुमोदनका लागि दर्ता गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्ताबाट बाहिरिए।

आइतबार प्रतिनिधिसभामा एमसीसी परियोजना टेबल हुँदै गर्दा आन्दोलनमा रहेको एमाले भने प्रक्रियामा सहभागी भएन। एमालेका सांसद भीम रावल चाहिं छलफलमा सहभागी भएर अनुमोदनका लागि संसदमा लैजाने सरकारको निर्णयको विरुद्धमा बोलेका थिए।

आइतबार बिहान सत्तारुढ चार दलका शीर्ष चार नेताहरुबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिने सहमति भएको थियो। यद्यपि सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने कार्यसूचि तयार पारे। योसँगै एमसीसीलाई लिएर दलहरुबीच भइरहेको मतभिन्नता औपचारिक रुपमै संसदमा प्रवेश गरेको छ।

‘एमसीसी सम्झौता टेबल गर्नु आपत्तिजनक’

नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्न लागेकोमा विरोध गरेका छन्। बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहँदा रावलले भने समय लिएर बोकेका थिए।

एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्ने भन्दै उनले भने, ‘यस्तो विषयमा प्रमुख प्रतिपक्षीले विरोध गरिरहेको, सरकारमा रहेका दलहरुको बीचमा सहमति नभइरहेको अवस्थामा यसरी जनताको भावना विपरित टेबल गरिनु आपत्तिजनक छ।’

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्।