काठमाडौँ। रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाइरहेको तथ्यहरुले सङ्केत गरेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दाबी गरेका छन् । बीबीसी अन्तरवार्तामा जोनसनले योजना कार्यान्वयन सुरु पनि भइसकेको बताएका हुन्।
खुफिया जानकारी अनुसार रुसले आक्रमण सुरु गरेर युक्रेनको राजधानी किएभलाई घेर्ने योजना बनाएको जोनसनको भनाइ थियो। ‘यदि त्यो भयो भने मानिसहरूको ज्यानको ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई सबैले बुझ्न जरुरी छ,’ उनले भने। वार्षिकरुपमा गरिने सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने म्युनिखमा रहेका जोनसनको यो भनाइ आएको हो।
उता, अमेरिकाले पनि युक्रेनको सीमामा १ लाख ६९ हजार देखि १ लाख ९० हजार रुसी सैनिक तैनाथ रहेको दाबी गरेको छ। पश्चिमा मुलुकहरूले युक्रेनमाथि रुसले आक्रमण गर्ने योजना बनाइरहेको दाबी गरिरहँदा रुसले भने सबै आरोपहरूको खण्डन गर्दै आइरहेको छ। आफ्नो सेनाले सो क्षेत्रमा सैन्य अभ्यास गरिरहेको रुसको भनाइ छ।
‘के अब रुसले युक्रेनमाथि आक्रमण गर्नै लागेको हो?’ भन्ने प्रश्नमा जोनसनले भने, ‘मैले डरका साथ भन्नुपर्छ, प्रमाणहरूले त्यतातर्फ नै सङ्केत गर्छ। तथ्यले के भन्छ भन्छ भने त्यो योजना सुरु पनि भइसकेको छ।’ अमेरिकी राष्ट्रपति जो बाइडेनले पश्चिमा राष्ट्रहरूलाई रुस युक्रेनमा पूर्वबाट मात्र नभएर बेलारुस र किएभको नजिकको क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको खुफिया जानकारी प्राप्त भएको कुरा साझा गरेको पनि जोनसनले बताए।