काठमाडौँ। संसद् सचिवालयमा साढे दुई वर्षअघि दर्ता भएको एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेस गर्न गठबन्धन दलहरू सहमतिनजिक पुगेका छन्।
एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरणसमेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा लचिलो हुँदै सम्झौता संसद्मा टेबल गर्न तयार देखिएका हुन्।
एमसीसी सम्झौतालाई अघि बढाउन गठबन्धन दलहरूबीच बनेको अनौपचारिक समझदारीकै आधारमा शनिबार बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमा अनुमोदन नभए पनि छलफलका लागि सार्वभौम संसद्मा लैजाने निर्णय गरेको छ। एकीकृत समाजवादीका एक नेताले आइतबार बस्ने गठबन्धन बैठकले यसबारे औपचारिक निर्णय गर्ने सम्भावना रहेको बताए।
अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेरै एकीकृत समाजवादीले पछिल्लो निर्णय गरेको ती नेताले बताए। ‘सम्भवतः अबको कोर्स एमसीसी सम्झौतालाई संसद्मा लाने नै हो,’ उनले भने। आइतबार संसद् बैठक पनि बोलाइएको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।